कलाको भाषा बुझ्ने प्रिय मनहरु !

नमस्कार !
यो डिजिटल मञ्च (kanxey.com) मा तपाईं अनि तपाईंजस्तै कला प्रेमी साथीहरुका लागि म मौलिक चित्र, कथा वा जीवन्त कलात्मक सामाग्रीहरु राख्नेछु । आशा छ तपाईंले यहाँ पोष्ट गरिएका सामाग्रीहरु मन पराउनु हुन्छ । जो धर्का, रंग र छायाँहरुको गहिराई देख्नुहुन्छ, जो मौनताको संगीत र सुस्केरा सुन्न सक्नुहुन्छ... अनि बुझ्नुहुन्छ - कलाको भाषा 🩷 ।

नयाँ न्युजलेटर सिधै प्राप्त गर्न र पुराना अभिलेखहरूमा पूर्ण पहुँचका लागि निशुल्क सब्स्क्राइब गर्नुहोस ।

मेरो बारेमा केही भन्नुपर्दा :

अन्तर्मुखी (Introvert)

अर्थात् कृष्णपक्षको रातजस्तै उज्यालोदेखि पर - म प्राय रङहरूमा बोल्छु । चित्र, रेखाचित्र, अपूरा स्केचहरू—मेरो हातले बोल्ने भाषा यही हो । जब रङ्गमा शब्दहरू अपुग हुन्छन्, यदाकदा आख्यान र कवितासँग पनि म शब्दहरू उधारो लिन्छु ।

परदेशी

गाउँबाट सहर अनि सहरबाट परदेश । समयका ऊर्जावान् घडीहरू घरदेखि टाढा लामो समय बिताएँ, तर जहाँ मैले धैर्यता र एकान्त सिकेँ। रुचि र कर्महरू फरक फरक छन । म क्यानभासमा कथा र दृश्यहरू बुन्न मन पराउँछु , जहाँ कलाले यथार्थ भेटोस्, र मसीले जिम्मेवारी लियोस् । चित्र, इलस्ट्रेटसन । वेब डिजाइन या कथा वाचन ... म चाहन्छु हरेक कर्ममा कला र सौन्दर्य जोडियोस् ।

बुलेट जर्नलिङ

#bujo सँग मेरो गहिरो मोह छ—सूचीहरू, ग्रिडहरू, साना धर्सा र अनुशासनहरू । चेक बक्स र डूडलबीच कतै, मेरो जीवनले फेरि सहज सास फेर्न सिकेको छ । यसले मलाई बचाएको छ । म म्यानिफेस्टेसनमा विश्वास गर्छु —निःसङ्कोच । लिखित शब्दहरूले हाम्रो भित्री शक्तिमा भरोसा राख्न सिकाउँछन र तिनलाई जगाउँछन् । पछिल्ला दिनहरूमा मैले साहित्य लेख्ने मेरा अनमोल समयहरू #bujo. लेखेर बिताएँ जसमा मलाई कुनै पश्चात्ताप छैन । बरु गर्व छ - म तिनै शब्दहरूमा टेकेर बाँचिरहेको छु ।

सघन गाढापन र अँध्यारो

श्याम रङ्ग, लामो कपाल, मिनिमल, भावुक र सचेत । शनि मलाई मन पर्ने ग्रह , जसले चन्द्रमाका टुक्राहरुको माला पहिरिएको छ, यो मलाई मेरो कला प्रेमी आत्माको घरजस्तै लाग्छ ।डिप्रेसनसँग धेरै नजिक पुगेँ कठिन मौसम र ऋतुहरू पार गरेँ, निराशाको निकै गहिराइसम्म पुगेँ तर आज—म स्वतन्त्र छु। केन्द्रित। शान्त। होहल्लाबाट टाढा, नकारात्मकताबाट सुरक्षित । कति सफल भएँ थाहा छैन तर लाग्छ म आफ्नै लयमा फर्किएको छु ।

बाल्यकालका स्मृतिहरू

पुराना मोहहरू .. विशेष गरी रङ्ग र चित्रकला, मेरो कथाहरूमा ती पलहरूको पुनरावृत्ति भइरहन्छन्। ‘कान्छे’ त्यसमध्ये एक हो - कहिल्यै बुढो नहुने मेरो संस्करण । यो स्मृतिको टुक्रा, समयका बज्रपातहरूमा मैले आफैलाई दिने अनौठो सान्त्वना पनि हो ।

इजरायल

यतिखेर जेरुसेलम नजिकको एक गाउँमा बस्छु । हार्नोफ (SCENEIC MOUNTAIN) यसको शान्त आकाश मलाइ असाध्य मन पर्छ 😍 नगरकोटजस्तै यहाँबाट निकै सुन्दर सूर्यास्तको दृश्य देखिन्छ —पहाड र हिमालको सम्झनाजस्तो । नोस्टाल्जियाहरु अनेक स्वरूपमा आउँछन् यो पनि एक हो ।

मलाई पत्र लेख्न :


kanxey@krishnathapa.com
kanxey@substack.com
oi@kanxey.com

User's avatar

Subscribe to Oi KanxeY (ओइ कान्छे!)

कुची, क्यानभास, धर्का, रङ्ग र छायाँ अनि शब्दहरू !

People