आगो, तिर्खा र अजिङ्गरकी आमा
के निर्दोषको सहारा बनेर उनीहरूलाई मुक्त गर्नु र पीडकलाई सजाय दिनुको बिचमा एउटा मसिनो रेखामात्र हुन्छ ? ड्यानेरिसले आफ्ना शत्रुहरूलाई जलाएर मार्न थालिन् ।
एक दशक भन्दा बढी भइसकेको छ - मेरो अर्थात् ‘कृष्णपक्ष’को तिर्खा बजारमा आएको । त्यसको आवरणमा भएको तस्बिरलाई लिएर धेरै पाठक र केही साथीहरूले प्रश्न सोध्नु भएको थियो - किन कुनै सिनेमाको पात्रलाई तिर्खाको कभर बनाउनु भएको ? कभरमा एउटा पखेटायुक्त अजिङ्गर (ड्रागन), खलिसी र पृष्ठभूमिमा आगो राखिएको थियो । त्यसको माथि सुनौलो अक्षरमा लेखिएको छ ‘तिर्खा ‘।
व्यक्तिगत रूपमा तिर्खाको लेखक अर्थात् मलाई सो समय गेम अफ थ्रोनजस्ता मिथक र सिनेमाहरू असाध्य मन पर्थ्यो अनि GOTको फ्यान भएकोले ड्यानेरिस टार्गेरियन (खलिसी)को बिम्बलाई मैले एक दिन चित्रमा उतारेँ र उनको चित्र पुस्तकको कभरमा राख्ने निर्णय गरेँ ।
धेरैले सोच्नुभयो होला - मिथक या सिनेमाको फ्यान हुँदैमा पुस्तकको आवरणमा यस्तो चित्र किन राखियो ? यो त केटाकेटीपनजस्तो पो देखिएन र ? जसको तिर्खाका कथाहरूमा कुनै सम्बन्ध छैन ।
शीर्ष कथा ‘तिर्खा’मा प्रमुख पात्रा अर्था कथाकी नायिका “प्रेमा”लाई स्वतन्त्र, साहसी र यौनिक स्वच्छन्दता भएकी चरित्रको रूपमा देखाइएको छ । नेपालको कुनै दुर्गम गाउँ या सहरकी पात्र प्रेमा र काल्पनिक साम्राज्य वेस्टेरोसकी खलिसी - दुवै विल्कुल भिन्न परिवेशका पात्रहरू हुन्, तर दुवै स्वतन्त्र र साहसी छविका छन् ।
कथाको अन्त्यमा नायिका ‘प्रेमा’ एउटा अदृश्य तिर्खा बोकेर अज्ञात स्थानमा हराउँछिन् । उसलाई कुनै इज्जत या सामाजिक लाञ्छनाहरूको दागले छुन सक्दैन, या ती क्रान्तिकारी पात्रा ‘प्रेमा’ समाजले मापन गरेको चारित्रिक मानक या मान्यताहरूबाट मुक्त “फायर प्रुफ” छिन ।
गेम अफ थ्रोन (सिंहासनको खेल) मिथकमा वर्णित नायिका ड्यानेरिस टार्गेरियन पनि अग्निरोधी पात्रा हुन् उनले एक पटक डोथ्राकीहरूका नेताहरूलाई एक मन्दिरमा जिउँदै आफूसमेत अग्नि कुण्डमा पसिन र जलाइदिइन । यो काल्पनिक मिति २९८ AC(After CONQUEST) कालखण्डको मिथक हो जुन वर्तमान समयसँग मेल खाँदैन , कथामा उनी फायर प्रुफ छिन, उनलाई आगोले छुन सक्दैन । (यद्यपि खलिसिको अग्निरोधी क्षमतालाई सिनेमा र पुस्तकमा भिन्न तरिकाले प्रस्तुत गरिएको छ )
डोथ्राकीहरूका नेताहरूलाई खाल भनिन्छ, जसले शक्तिको आधारमा सङ्गठित घुमन्ते समूहहरू — खलासारको नेतृत्व गर्छन् । GOT वास्तवमा खलासारका खालहरूको शक्ति र सिंहासनको कथा हो ।
आज म त्यही एक पात्रको बारेमा बताउँदैछु, जसले काल्पनिक कथाको पर्दा चिरेर मानवीय भावना, सत्ताको महत्त्वाकाङ्क्षा र नारी शक्तिको एउटा जीवन्त बिम्ब खडा गरेकी छन् । ती पात्र हुन्— ड्यानेरिस टार्गेरियन, जसलाई सारा संसारले ‘खलिसी’ वा ‘मदर अफ ड्रागन्स’ भनेर चिन्दछ नेपालीमा भनौँ - “अजिङ्गरकी आमा” । आज “अजिङ्गरकी आमा”को बारेमा अलिकति चर्चा गरौँ ।
अग्नि प्रतिरोधात्मक’ (Fire Immunity) बिम्ब बोकेकी मिथककी रहस्यमयी पात्र: ड्यानेरिस टार्गेरियन अर्थात् खलिसी
एउटा भयानक आँधीबाट त्यो ‘आगो’ को कथा सुरु हुन्छ । पश्चिमको ‘वेस्टरोस’मा गृहयुद्ध मच्चिएको बेला, ड्र्यागनस्टोनको एउटा अँध्यारो कोठामा ड्यानेरिसको जन्म भयो । बाहिर प्रकृति गर्जिरहेको थियो, भित्र एउटा राजतन्त्र ढल्दै थियो । त्यसैले उनलाई ‘स्टोर्मबोर्न’ (Stormborn) अर्थात् ‘आँधीकी छोरी’ भनियो ।
तर विडम्बना ! जो राजकुमारी भएर जन्मिइन्, उनैले आफ्नो बाल्यकाल निर्वासनमा, असुरक्षा र गरिबीमा बिताउनुपर्यो । आफ्नै दाइ भिसेरिसको मानसिक र शारीरिक दुर्व्यवहार सहँदै उनी एउटी डराएकी, दबेकी र कमजोर बालिकाका रूपमा हुर्किइन् । तर त्यो एउटा लुकेको भुङ्ग्रो मात्र थियो, जसलाई बल्नका लागि एउटा चिरागको प्रतीक्षा थियो ।
‘खलिसी’को उदय र अग्निको त्यो प्रथम स्पर्श
ड्यानेरिसको जीवनको पहिलो ठुलो मोड तब आयो जब उनका दाइले सेनाको लोभमा उनलाई डोथ्राकी घोडसवारहरूका राजा खाल ड्रोगोसँग विवाह गरिदिए । १३ वर्षकी ती बालिकालाई एउटा अपरिचित संस्कृति र भाषाको बिचमा धकेलियो । तर त्यहीँबाट उनले आफ्नो भित्री साहस भेट्टाइन् ।
उनले डोथ्राकी भाषा मात्र सिकिनन्, उनीहरूका रीतिरिवाजलाई अपनाएर एउटी वास्तविक ‘खलिसी’ अर्थात् रानी बनिन् । तर उनको जीवनको सबैभन्दा ठुलो चमत्कार तब भयो, जब उनका पति खाल ड्रोगोको मृत्यु भयो । हुन त राजा खाल ड्रोगो आफै मरेका होइनन्, रक्त जादुको तन्त्रमन्त्रका प्रभावले उनको गहिरो घाउ निको भएर शारीरिक रूपमा त बाँचे तर दुर्बल, चेतनाहीन र शासन गर्न नसक्ने अवस्थामा । उनी कहिल्यै पहिलेजस्तो नहुने बुझेर ड्यानेरेसले नै अन्ततः उनको हत्या गरिन् (टिभी संस्करणमा तकियाले थिचेर)।
हामी सबैलाई थाहा छ, ती दृश्यहरू जहाँ ड्यानेरिसले आफ्ना पतिका साथै तीन वटा पत्थर भइसकेका ड्रागनका अण्डाहरूलाई चितामा राखिन् । र, आफैँ पनि त्यो दन्किरहेको ज्वालाभित्र पसिन् । सारा संसारले सोच्यो— ड्यानेरिस जिउँदै जलिन । तर बिहान जब आगोको खरानी मत्थर भयो, ड्यानेरिस त्यस अग्नीकुन्डबाट जीवितै निस्किइन्, साथमा तीन वटा साना ड्रागनहरू लिएर । यही घटनाले उनलाई ‘द अनबर्न’ (The Unburnt) को उपाधि दिलायो ।
पुस्तक र सिनेमा: आगोको शक्तिमा रहेको रहस्यमयी भिन्नता यहाँ एउटा रोचक तथ्य छ, जुन पुस्तकका पाठक र टेलिभिजनका दर्शकबिच सधैँ चर्चाको विषय बन्छ । जर्ज आर.आर. मार्टिनको उपन्यास र एचबीओ (HBO) को सिरिजमा ड्यानेरिसको यो ‘अग्नि प्रतिरोधात्मक’ शक्तिलाई फरक ढङ्गले प्रस्तुत गरिएको छ ।
सिनेमामा ड्यानेरिसलाई एउटा ‘स्थायी र व्याख्या नगरिएको अग्नि प्रतिरोधात्मक’ गुण भएको देखाइएको छ । उनलाई आगोले कहिल्यै पनि केही गर्दैन । सिजन ६ मा जब उनले डोथ्राकी नेताहरूलाई मन्दिरभित्र जलाउँछिन्, उनी फेरि एक पटक आगोबाट सकुशल बाहिर निस्किन्छिन् । सिनेमामा उनी मुखबाट आगो ओकल्ने जीव ड्रागनकी आमा हुन् र उनलाई “आगोले ड्रागनलाई मार्न सक्दैन” भन्ने अलौकिक बिम्बको रूपमा चित्रण गरेको छ ।
पुस्तकमा: उपन्यासहरूमा भने यो शक्ति अलि फरक छ । त्यहाँ ड्यानेरिस आगोबाट जोगिनुलाई एउटा विशेष ‘रगतको जादु’ (Blood Magic) सँग जोडिएको अद्वितीय र एक पटकको घटना मानिन्छ । उपन्यासकी ड्यानेरिस सिनेमामा जस्तो सधैँको लागि ‘फायरप्रुफ’ छिन या छैनन् उल्लेख गरिएको छैन ।
पुस्तकमा ड्यानेरिसका आँखाहरू बैजनी रङका छन् र उनको बोलीमा टायरोसी लवज छ, जुन फिल्ममा देखाइएको छैन ।
न्यायकर्ता कि तानाशाह ? एउटा जटिल द्वन्द्व
ड्यानेरिसको यात्रा केवल आगोमा नजल्नु मात्र थिएन, यो त दासताका विरुद्धको एउटा महायुद्ध थियो । उनले अष्टापोर, युन्काई र मिरिन जस्ता सहरहरू जित्दै हजारौँ दासहरूलाई मुक्ति दिइन् । उनलाई ‘मिसा’ अर्थात् आमा भनियो ।
तर यहाँ एउटा गहिरो प्रश्न उब्जिन्छ— के निर्दोषको सहारा बनेर उनीहरूलाई मुक्त गर्नु र पीडकलाई सजाय दिनुको बिचमा एउटा मसिनो रेखामात्र हुन्छ ? ड्यानेरिसले आफ्ना शत्रुहरूलाई जलाएर मार्न थालिन् । उनले डेढ सय बढी (१६३) जना मालिक र नेताहरूलाई क्रसमा टाँगिन्, किनकि उनीहरूले दास बालबालिकाहरूलाई त्यसै गरेका थिए। उनको न्याय ‘क्रूर र निर्मम’ र हिंसात्मक हुन थाल्यो । यहाँबाट नै उनको ‘महारानी’ देखि ‘पागल रानी’ सम्मको यात्राको बिउ रोपिएको थियो ।
भविष्यवाणीको जालो र प्रेमको धोका
उपन्यासहरूमा ड्यानेरिस सधैँ भविष्यवाणीहरूबाट डराएकी छिन् । उनलाई “तीन वटा विश्वासघात” भोग्नुपर्ने चेतावनी दिइएको थियो । पछि उनी आफ्नै महत्त्वाकाङ्क्षा र परिस्थितिको शिकार बनिन्।
जब उनी वेस्टरोस आइन्, उनले जोन स्नोसँग प्रेम गरिन् । तर पछि थाहा भयो कि जोन स्नो त उनकै भदा हुन् र सिंहासनको असली हकदार पनि उनै हुन् । आफ्नो प्रेम, आफ्ना विश्वासी सल्लाहकारहरू र आफ्ना ड्रागनहरू गुमाउँदै जाँदा ड्यानेरिस एक्लो भइन्। उनी भन्थिन्— “म प्रेमले यो संसार जित्न चाहन्थेँ, शासन गर्न चाहन्थेँ, तर अब मसँग डर मात्र बाँकी छ” ।
विनाशको ताण्डव र दुःखान्त अन्त्य
यो मिथकको अन्त्य निकै विवादास्पद रह्यो । पतिको वियोग पछि र त्यसपछिका असफल प्रेम सम्बन्धहरूले एक्लिएकी ड्यानेरिस, जसले सधैँ निर्दोषको रक्षा गर्ने कसम खाएकी थिइन्, उनैले किंग्स ल्यान्डिङका लाखौँ निर्दोष जनतालाई आफ्नो ड्रागन ‘ड्रोगन’को आगोले जलाएर खरानी पारिदिइन् । ड्यानेरिसमा विकसित भएको यो ‘भिलेन आर्क’ (Villain Arc) वा रगत र आगोको ‘तिर्खा’लाई विश्लेषकहरूले सत्ता शक्ति र सिंहासनका कारण मात्र जोडेर हेरेनन् यो त दबिएको असफल प्रेम र अतृप्तिको सङ्केतका रूपमा प्रकट भएको महारौद्रता थियो ।
अन्ततः, उनले सबैभन्दा बढी प्रेम र विश्वास गरेको अर्को पुरुष जोन स्नोले नै उनको हत्या गरे । आगोमा कहिल्यै नजल्ने ड्यानेरिसको मृत्यु फलामको एउटा खुकुरीबाट भयो । उनको लासलाई उनकै अजिङ्गरले बोकेर अज्ञात ठाउँमा लग्यो र ‘आइरन थ्रोन’ (Iron Throne) लाई आगोले पगालेर ध्वस्त पारिदियो ।
पश्चिमा जगतको कुनै अज्ञात मिथककी पात्र ड्यानेरिसलाई तिर्खा कथा सङ्ग्रह पुस्तकको कभरमा राख्नु शक्ति, सङ्घर्ष र कठोरताको सानो बिम्ब मात्र हो । ड्यानेरिस टार्गेरियन केवल एउटा पात्र मात्र होइनन्, उनी नारी सशक्तीकरणको एउटा जटिल प्रतीक हुन् । हजारौँ मानिसहरूले ‘रानी खलिसी’ वा ‘ड्यानेरिस’ को कथा स्मरण गराएर आफ्ना छोरीहरूलाई निडर र साहसी बन्न सिकाएका छन् । उनले एउटी कमजोर बालिकादेखि एउटी शक्तिशाली शासकसम्मको जुन यात्रा तय गरिन्, त्यसले हामीलाई सिकाउँछ कि— शक्तिले मानिसलाई मुक्त पनि गर्छ र कहिलेकाहीँ त्यही शक्तिले मानिसलाई अन्धो पनि बनाउँछ ।
तिर्खाको सुनौलो अक्षर पछि पृष्ठभूमिमा रातो पहेँलो अग्नि कुण्डको चित्र राखिएको छ । ड्यानेरिसको ‘अग्नि प्रतिरोधात्मक’ शक्ति केवल आगोसँगको लडाइँ थिएन, यो त जीवनका कठिन परिस्थितिहरूमा पनि नजल्ने र खरानीबाट फेरि बौरिएर आउने एउटा अदम्य साहसको बिम्ब हो ।
इमेल -
kanxey@krishnathapa.com




