हरिवंश र दयाहाङको ‘भुठान’ The World’s Happiest Man
फिल्मको शीर्षकमाथिको कटाक्ष पनि हो र भुटानलाई ‘विश्वकै सबैभन्दा खुशी देश’ भनेर गरिएको ब्राण्डिङमाथि तर तीखो प्रहार पनि हो । जातीय सफायाको इतिहास बोकेको देश।
तपाईंलाई कहिलेकाहीं ओटिटीमा विश्वभरका सिनेमा र वृत्तचित्रहरु हेरिरहँदा ‘१४ पिक्स’ जस्तै केही थप स्तरीय नेपाली सामाग्रीहरु पनि भइ दिउन न भन्ने लाग्दो हो या नेपाली कन्टेन्टको अभाव पक्कै महसुस गर्नु हुन्छ होला ।
नेपाली चलचित्र प्रेमीहरूका लागि एउटा खुसीको खबर छ। वरिष्ठ कलाकार हरिवंश आचार्यको मुख्य भूमिका रहेको बहुप्रतिक्षित चलचित्र ‘भुठान’ अब डिजिटल पर्दा अर्थात् ओटीटी प्लेटफर्ममा आइपुगेको छ । भुटानी शरणार्थीको मर्मस्पर्शी कथा बोकेको यो चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा भने ‘द वर्ल्डस ह्याप्पिएस्ट म्यान’ (The World’s Happiest Man) को नामले चिनाइएको छ ।
यदि तपाईँ विदेशमा हुनुहुन्छ, विशेष गरी उत्तर अमेरिकामा, भने तपाईँले यो फिल्म ‘प्राइम भिडियो’ (Prime Video) मार्फत हेर्न सक्नुहुन्छ । हुन त मलाई सबै कथाहरु सबै सिनेमाहरु मन पर्छन त्यसैले म समीक्षक होइन । एकपटक स्वरसम्राट नारायण गोपालले भन्नु भएको थियो कि - कुनै पनि गीत नराम्रा हुदैनन, त्यसमा तपाईं कति डुब्नु हुन्छ त्यसमा भर पर्छ ।
आउनुहोस्, यस चलचित्रका बारेमा केही छोटो चर्चा गरौँ ।
बिनोद पौडेलको भुठान: द वर्ल्ड्स ह्याप्पिएस्ट म्यान चलचित्रको बलियो पक्ष यसको कलाकार टोली हो। फिल्ममा नेपालका तर्फबाट हरिवंश आचार्य र दयाहाङ राई जस्ता हस्तीहरूले पर्दा साझा गरेका छन् भने उनीहरूलाई साथ दिएका छन् हलिउडका दिग्गज अभिनेता ब्रुस डर्नले ।
सिनेमा दुई फरक तर एक–अर्कामा गाँसिएका कथाको धागोमा बुन्निएको छ। एउटा धागोले बिष्णु के.सी. (हरिवंश आचार्य) को जीवन पछ्याउँछ—अमेरिकामा शरणार्थी भएर बसिरहेका एक वृद्ध ल्होत्साम्पा, जसको मन बारम्बार भुटान फर्किन खोज्छ, तर अस्वीकृत पत्रहरूले त्यो चाहना पटक–पटक तुहिएको हुन्छ । अर्को धागो चाहिँ झन् सुरुका केही मिनेटमै गम्भीर मोड लिन्छ—एक अन्त्येष्टि गृहमा। त्यहाँ खुल्छ एउटा असहज सत्य: बिष्णुको मृत्यु भइसकेको छ। अब प्रश्न उठ्छ—उनी जन्मिँदा हिन्दु थिए, अन्त्येष्टि दाहसंस्कार कसरी हुदैछ ? दुई पत्नी, दुई छोरा, र बीचमा अड्किएको एउटा पार्थीव शरीर ।
रोचक कुरा के भने, फिल्मले नायकको मृत्यु सुरुमै देखाएर कुनै सस्पेन्सको पासो हाल्दैन। न त आँसु झार्न बाध्य पार्ने सस्तो चाल नै खेल्छ । बरु, यसले दर्शकलाई बिष्णुको भाँचिएको/ च्यातिएको भित्री संसारतिर धकेल्छ। स्मृतिहरु, नोस्टाल्जिया र अतीतका सम्झनाहरु यहाँ मुख्य विषय बनेका छन । कतै उनी सपनामा आफ्नी दिवंगत आमाको काखमा छन्—भुटानमै छुटेकी आमा, जसले बाल्यकालका लोक–लोरी गाइरहेकी छन्। कतै गाउँको बुढो सिमलको रूख देख्छन, जसलाई उनले आफ्ना रोगको अमृत ठानेका छन्।
बिष्णुसँग बचेका भौतिक सम्झना? एउटा घो, एउटा फुटबल, र भुटानी राष्ट्रिय टिमको गोलकिपर हुँदाको पत्रिका—सानो बाकसभित्र थन्किएका छन।
उनकी नातिनी गुनगुन (अदिति प्याकुरेल)—हाइस्कुल पढ्छिन, तर बिष्णुको सबैभन्दा नजिकको मान्छे—पनि उनको नास्टाल्जियाको माध्यम बन्छिन्। फुटबल, विगतका कथा, र भुटानी राजपरिवारलाई फर्कन अनुमति माग्दै लेखिएको (र अनुवाद गरिएको) चिठी। तर शरणार्थी जीवन निर्दयी हुन्छ। यसले बिष्णुको स्वायत्तता, निर्णय गर्ने क्षमता, सबै च्यातेर लैजान्छ। PTSD को उपचार गरिरहेका डाक्टरलाई उनले व्यंग्य गर्छन्—
“भुटान गएँ भने म मात्र दुःखी मान्छे हुनेछु होला।” एक वाक्य, तर कति गहिरो ।
फिल्मको शीर्षकमाथिको कटाक्ष पनि हो र भुटानलाई ‘विश्वकै सबैभन्दा खुशी देश’ भनेर गरिएको ब्राण्डिङमाथि तर तीखो प्रहार पनि हो । जातीय सफायाको इतिहास बोकेको देश। अझ गहिरो कुरा? बिष्णुले आफैँ स्वीकारेका छन्—सायद भुटान फर्किनु पनि पर्याप्त उपचार होइन ।
पौडेल र उनको टिमले संगीत र दृश्यलाई यति घुलमिल गरिदिएका छन् कि बिष्णुको निराशा हावामा तैरिरहेझैँ लाग्छ। कतिपय दृश्यहरू सुन्दर छन्—तर जानाजानी अलि ‘हेभी’ प्रतीकात्मक । सपनामा, भ्रममा, मृत्युपछिको संसारमा बिष्णुका भूत–प्रेत, डर, र अपराधबोध देखिन्छन्। सुरुमा गुलाबी झल्को बोकेको स्मृति विस्तारै हिंस्रक र डर लाग्दा संकेतहरूले कब्जा गर्छ । सिनेमामा प्रयुक्त विम्बहरुको सघनताले ‘लभ फाइट र हिरो भिलेन’मा रमाउने खालका दर्शकहरुलाई पक्कै निराश बनाउनेछ । फिल्मको कथा भन्ने शैली (Nonlinear narrative) अलि जटिल भएकाले केही दर्शकका लागि यो बुझ्न गाह्रो र अनौठो लाग्न सक्नेछ । यस्तै, फिल्मका दृश्यहरू निकै छिटो परिवर्तन हुने र प्रतीकात्मकताको प्रयोग अलि बढी नै गरिएकाले केही दर्शकलाई कथा पछ्याउन गाह्रो हुनेछ ।
अभिनयको पाटोमा भने फिल्म निकै उत्कृष्ट छ। निकै उम्दा अभिनय हरिबंशको .. सदावहार चरित्र अभिनेता हरिवंश आचार्यको अभिनय र फिल्मको भावनात्मक पक्षले धेरैको मन छोएको थियो । शान्त सतहभित्र उम्लिरहेको पीडा देखाउँछन्। बिष्णुको सामाजिक व्यवहारको हल्कापनभित्र लुकेको आँधी। यही संयमले उनका विस्फोटक क्षणहरू झन् भारी बनाउँछ। तर, सत्य भन्नुपर्दा, यति सबल अभिनय र प्राविधिक दक्षताका बाबजुद बिष्णुको कथाले कहिलेकाहीँ फिल्मलाई अलि भारी बनाइदिन्छ। सुरुदेखि नै उनको पीडा स्पष्ट छ, तर पटक–पटक मौखिक रूपमा अस्तित्वगत डर दोहोरिन्छ ।
कथालाई टुक्र्याएर प्रस्तुत गर्दा उनको मानसिक अवस्थाको क्रमिक पतनको भावनात्मक प्रभाव पनि कताकता कमजोर हुन्छ।
सहायक कलाकारहरू पनि बलिया छन्, तर अदिति प्याकुरेल त झन् सहज। उनी एक किशोरी हुन्—भुटानी परिवारको अपेक्षा र अमेरिकी समाजको दबाबबीच फसेकी। हिन्दु–क्रिश्चियन द्वन्द्व सुरुमा ठूलो देखिए पनि, पछि थाहा हुन्छ—यो त परिवारभित्रका जटिल सम्बन्ध देखाउने एउटा बहाना मात्रै रहेछ।
पुस्तान्तरणको द्वन्द्व स्पष्ट छ। जेठो छोरा (गुरप्रीत सिंह) र बुहारी (पूजा चन्द) आफ्नी छोरी गुनगुनको ‘क्वियर’ पहिचान र परम्पराबाट टाढा रहने चाहना बुझ्न सक्दैनन्। साना–साना दृश्यजस्तै, बाबुआमाले नेपालीमा बोल्दा गुंगुनले अंग्रेजीमा जवाफ दिनु, वा परिवारमा उनी मात्रै चम्चा–काँटाले दालभात खानु—यी सबैले आप्रवासी घरपरिवारभित्रको सूक्ष्म सामाजिक यथार्थ देखाउँछन्।
एक हास्यास्पद, तर अर्थपूर्ण द्वन्द छ, जेठो हिन्दु छोरा मुकेश (हिन्दु) ले कान्छो क्रिश्चियन सौतेनी भाइ (दयाहाङ राई) लाई कुट्ने धम्की दिन्छ। दयाहाङको पात्र चाहिँ सकसमा पर्छ - दाइलाई हात हाल्नु त निषेध छ । अमेरिकी अन्त्येष्टि गृहका निर्देशक (ब्रुस डर्न) त झन् हैरान—यी मानिस किन निर्णयै गर्न सक्दैनन्? संस्कृतिको तर्क उ बुझ्दैन।
नेपाली फिल्म उद्योगको सन्दर्भमा अलि पृथक सिनेमा हो । जहाँ अलिकति मसलाबाट टाढा गयो भने पनि फिल्मलाई “अल्टरनेटिभ” भनिन्छ, त्यहाँ यो त धेरै फरक छ। स्पष्ट अन्त्य खोज्नेहरूका लागि सीधा रेखामा कथा चाहनेहरूका लागि पनि यो सिनेमा होइन । यो जानाजानी गरिएको हो। अस्पष्टतामा रमाउँछ फिल्म। कहिलेकाहीँ यो प्रयोगधर्मिताले बिष्णुको उदासीको गुञ्जन कम गरिदिन्छ—हो, त्यो स्वीकार्य कमजोरी हो। तर समग्रमा, भुठान नयाँ सोचको, साहसी र सफल प्रस्तुति हो। बिनोद पौडेलको काममा थपिएको अर्को उल्लेखनीय, अलि अनौठो, तर सम्झन लायक अध्याय ।
यसका अलावा, फिल्ममा ऋचा घिमिरे, जोएस पाण्डे, अदिती प्याकुरेल र टम क्रेन जस्ता कलाकारहरूको पनि अभिनय रहेको छ । ओहायो, अमेरिकामा छायांकन गरिएको यो १०२ मिनेट लामो ड्रामाले अमेरिका-नेपालको सांस्कृतिक र भावनात्मक सम्बन्धलाई जोड्ने प्रयास गरेको छ ।
कहाँ र कसरी हेर्ने?
निर्माता अवीरल थापाका अनुसार डिजिटल प्लेटफर्म अमेजन प्राइम भिडियोमा यो फिल्म एक हप्ता अगाडी देखि नै स्ट्रिमिङ सुरु भइसकेको छ , यद्यपि हाललाई यो सुविधा उत्तर अमेरिकी क्षेत्रका दर्शकका लागि मात्र उपलब्ध छ । तर उत्तर अमेरिका भन्दा बाहिर हुनुहुन्छ भने निराश नहुनुहोस्, यो फिल्म विश्वभरका दर्शकहरूले छिटै नै हेर्न पाउने गरी सार्वजनिक गर्ने तयारी पनि भइरहेको छ ।
समग्रमा, यदि तपाईँ हरिवंश आचार्य र दयाहाङ राईको सशक्त अभिनय हेर्न चाहनुहुन्छ र भुटानी शरणार्थी जीवनको कथालाई नजिकबाट महसुस गर्न चाहनुहुन्छ भने ‘भुठान’ तपाईँका लागि एक पटक हेर्नै पर्ने फिल्म हुन सक्छ ।
CLICK HERE
कृष्णपक्ष थापा KanxeY
इमेल - oi@kanxey.com





