नेपालका मीनबहादुर बर्लिन अन्तर्राष्ट्रिय सिनेमा महोत्सवको जुरीमा
उनको कलाप्रेम र साधनाको उचाईले यति ठुलो र फराकिलो स्वरुप लिनेछ भन्ने कुराको आभास र अनुमान पनि ममा त्यसबेला नै थियो अलि अलि ।
केही खबरहरू चुपचाप आउँछन्।
केही खबरले नेपाली हुनुको गर्व पनि संगसंगै बोकेर ल्याउछ्न ।
सोसल मिडियामा स्क्रोल गर्दै गर्दा एकछिन आँखा अड्कियो, फेरि पढेँ—खबर थियो : शाम्बाला का निर्देशक मीनबहादुर भाम विश्वप्रसिद्ध बर्लिन अन्तर्राष्ट्रिय सिनेमा महोत्सव (बर्लिनाले) को ७६औँ संस्करणको अन्तर्राष्ट्रिय जुरीमा चयन भएका छन्। हो, त्यही बर्लिनाले । जसको नाम मात्रले पनि संसारभरका सिनेमाकर्मीको मुटु अलि छिटो धड्किन्छ।
एक दशक अघि उनी इजरायल पनि आएका थिए, हाइफ़ा अन्तर्राष्ट्रीय फिल्म फेस्टिवलको सहकार्यमा आरभा डेजर्टमा भएको चलचित्र महोत्सवमा ‘कालो पोथी’ लिएर । हुन त उनीसँग मेरो परिचय कालो पोथी सिनेमाले भेनिसमा अन्तर्राष्ट्रीय फिल्म फेस्टिभलमा उत्कृष्ट अवार्ड जित्नुभन्दा धेरै पुरानो हो ।
उच्च अध्ययनको सिलसिलामा भर्खर राजधानी छिरेका थियौं हामी । स्वयम्भु नजिकै हाम्रो डेरा थियो, आइ एस्सी पछि विविध कारणले एमबिबिएस पढ्ने धोको अधुरो भएको थियो त्यसपछि फ़्याकल्टी चेन्ज गरेर समाज्शाश्त्र पढ्न थालेको थिएँ त्रिचन्द्रमा ।
लोकेन्द्र भाम मेरा मिल्ने सहपाठी थिए, उनका भाइ थिए मीन । दाजुभाईको स्वभाव भने निकै पृथक थियो । उनीहरु किर्तिपुरतिर सरेपछि पनि म बेलाबेला गइरहन्थे हुन त सुदुर पश्चिम, कर्णालीतिरका नाटक र रंग कर्ममा उनको रुची त्यसैबेला देखि थियो । उनको कलाप्रेम र साधनाको उचाईले यति ठुलो र फराकिलो स्वरुप लिनेछ भन्ने कुराको आभास र अनुमान पनि ममा त्यसबेला नै थियो अलि अलि ।
उनी धेरै बोल्दैन थिए । साँचै उनी निकै फरक थिए, उनीसंगको हरेक सामिप्यतामा म अध्यात्म र कलाप्रतिको प्रेम र गहिराई महसुस गर्थेँ ।
पछिल्लो समय नेपालमा पनि व्यवसायिक सिनेमाहरु संगै पृथक स्वाद र गहिराईका कला सिनेमाहरुका बारेमा केही चासो र चर्चा बढेको पाइन्छ । निर्देशक मीन बहादुर यसका महत्वपूर्ण कडी हुन् । गत बर्ष भाम निर्देशित सिनेमा शाम्बलाले पनि विश्व रंगमंचमा निकै ठुलो चर्चा पायो ।
एकछिन रोकिएर सोच्नुपर्ने खबर।
मीन भामका लागि यो सामान्य उपलब्धि थिएन। उनले सामाजिक सञ्जालमार्फत आफ्नो अनुभूति बाँडे—खुसी, कृतज्ञता र अलिकति अविश्वास मिसिएको भाव। अन्तर्राष्ट्रिय जुरी सदस्यका रूपमा सेवा गर्न पाउनु ठूलो सम्मान भएको उनले लेखेका छन्, विशेषगरी विम वेन्डर्सजस्ता विश्व सिनेमाका स्तम्भसँग एउटै मञ्चमा उभिन पाउनु कल्पनाभन्दा बाहिरको अनुभूति भएको उल्लेख गर्दै। वेन्डर्स, जसको कामले संसारभरका कथाकारलाई बाटो देखाएको छ—त्यही व्यक्तिसँग सहकार्य गर्नु, साँच्चै नै सानो कुरा होइन।
बीचमै एउटा स्मरण पनि आयो।
सन् २०११ मा आमिर खान बर्लिनालेको जुरीमा बसेको प्रसंग उनले झिके। तुलना गर्न होइन, सायद जिम्मेवारीको वजन सम्झाउन। र त्यही सन्दर्भमा उनले लेखे—यो भूमिका अत्यन्त विनम्रताका साथ स्वीकार गरेको छु। ठूला शब्द होइन, तर भाव गहिरो ।
सबैभन्दा छोएको कुरा भने उनको नेपालप्रतिको भाव थियो। बर्लिनतर्फ पाइला चाल्दा आफू हिमालहरूको मौन आवाज, जनताको दृढता र नेपालको आत्मा साथमा लिएर जानेछु, उनले भनेका छन्। यो केवल मेरो यात्रा होइन, हाम्रो साझा यात्रा हो—अलिकति भावुक लाग्न सक्छ, तर बनावटी होइन। साँचो महसुस हुने किसिमको।
उनले बर्लिनालेकी फेस्टिभल निर्देशक ट्रिसिया टटल, जुरी सदस्यहरू र सम्पूर्ण टिमप्रति आभार व्यक्त गर्न पनि बिर्सेनन्। सिनेमाको परिवर्तनकारी शक्तिलाई उत्सवका रूपमा मनाउने यात्राप्रति उत्साहित रहेको भन्दै उनले अन्त्यमा लेखे—“बर्लिनमा भेटौँला।” छोटो र न्यानो माया ।
सन्दर्भ यहाँ निकै महत्वपूर्ण छ। मीन भामको पछिल्लो फिल्म शाम्बाला ले धेरै अन्तर्राष्ट्रिय महोत्सवको यात्रा गरिसकेको छ। अझ ठूलो कुरा, यो बर्लिनालेको मुख्य प्रतिस्पर्धा—गोल्डेन बेयर—मा छनोट हुने पहिलो नेपाली फिल्म थियो । त्यो केवल उपलब्धि होइन, इतिहास हो। नेपालमा रिलिज हुँदा पनि फिल्मले राम्रो व्यापार गर्यो, जुन आफैंमा सुखद संकेत हो अन्यथा यस्ता कलाप्रधान सिनेमाहरुले दर्शक र हल पाउदैनन ।
अब अर्को मोड—किनभने यो कथामा ट्विस्ट त छ।
बर्लिनबाट निम्तो आएको बेला (हो, साधारण इमेलमार्फत, करिब तीन महिना अघि) मीन भाम बिल्कुलै फरक बाटोको तयारीमा थिए। राजनीति। नेपाली कांग्रेसको तर्फबाट प्रत्यक्ष संसदीय निर्वाचन लड्ने तयारी अन्तिम चरणमा पुगेको थियो। गगन थापा, विश्वप्रकाश शर्माजस्ता नेताहरूसँग परामर्श। काठमाडौंका सम्भावित क्षेत्रहरूको हिसाबकिताब। टिकट वितरणको अन्तिम दिनसम्म पनि निर्णय झुण्डिएको थियो । देश यतिबेला चुनावको संघारमा छ । हुन त कला र राजनीति पृथक विषय हुन् ।
सुदूर पश्चिमको मुगु या उनको क्षेत्रको राजनीतिले पनि उनलाई बोलाइरहेको हुन सक्थ्यो तर अन्ततः उनले सिनेमा रोजे।
कम्तीमा अहिलेका लागि।
राजनीतिलाई पूर्ण रूपमा अस्वीकार गरेर होइन, तर यो अवसरलाई प्राथमिकता दिँदै। उनले यो निर्णयलाई आफ्नो करियरकै सबैभन्दा ठूलो उपलब्धि भनेका छन् र नेपाललाई विश्व सांस्कृतिक मञ्चमा प्रतिनिधित्व गर्ने दुर्लभ अवसरका रूपमा व्याख्या गरेका छन्। उनी फेब्रुअरी ९ मा बर्लिन प्रस्थान गर्नेछन्।
सन् २०२६ को बर्लिन अन्तर्राष्ट्रिय सिनेमा महोत्सवको अन्तर्राष्ट्रिय जुरी प्यानलको अध्यक्ष जर्मनीका विम वेन्डर्स हुन्। अन्य सदस्यहरूमा दक्षिण कोरियाकी बे डुना, भारतका शिवेन्द्र सिंह डुंगरपुर, अमेरिकाका रेनाल्डो मार्कस ग्रीन, जापानकी हिकारी, पोल्याण्डकी इवा पुस्ज्चिन्स्का र नेपालका मीनबहादुर भाम छन्।
साथ त बलियो छ।
र यो यात्रा—केवल व्यक्तिगत होइन, अब यसमा नेपाल पनि जोडिएको छ ।
हार्दिक बधाई प्रिय निर्देशक !



