स्पर्शको मूल्य - जहाँ काटिन्छन औंलाहरु
... तर यहाँ सुख र स्पर्श पाउनको लागि एउटा ठुलो मूल्य चुकाउनुपर्छ। ग्राहकहरूले स्पर्शको आनन्द लिनका लागि आफ्नो एउटा औँला काटेर दस्तुर बुझाउनुपर्ने हुन्छ ।
केही समय अगाडी गायक प्रकाश सपुतले एउटा यस्तो केन्द्रको कल्पना गरेका थिए जहाँ केटामान्छेहरु धित मरुन्जेल रुन पाउन । Matta and Matto हेरिसकेपछि मलाइ उनै सपुतको सो काल्पनिक रुवाबासी सेन्टरको याद आयो ।
एउटा यस्तो संसारको कल्पना गर्नुहोस् जहाँ कसैलाई छुनु वा स्पर्श गर्नु कडा रूपमा निषेध गरिएको छ। सुन्दा पनि कस्तो अचम्म र अलि डरलाग्दो लाग्छ, हैन?
यो एनिमेसनको कथा एउटा उजाड र एक्लोपनले भरिएको संसारमा आधारित छ । फिल्मको त्यो संसारमा हरेक मानिसहरु प्लास्टिकका खोल ओढेर हिड्छन उनीहरू एक अर्कालाई देख्न सक्छन् तर छुन सक्दैनन् । पार्क, पसल, रेस्टुरेन्ट, स्विमिङ पुल हरेक स्थानमा एक अर्कालाई छुन नपर्ने गरी व्यवस्था मिलाइएको छ । बाटो घाटो अथवा सार्वजनिक स्थानहरूमा एक अर्कालाई छोइन्छ कि भनेर सजग भएर हिँड्नु उनीहरूको दैनिकी हो ।
रहस्यमयी ‘होटेल भाइप’ (Hotel Vaip)
यहाँ हरेक मानिसहरु सामीप्यको खोजी र स्पर्शका लागि तड्पिरहेका छन्। उनीहरूको यो धोको पूरा गर्न ‘माटा र माट्टो’ नामका दुई विचित्र पात्रहरूले एउटा विचित्र होटेल चलाउँछन्, जसको नाम हो— होटेल भाइप । यो एउटा अस्थायी र मनलाई भ्रमित पार्ने होटेल हो । फिल्मको सुरुवातमै गुडाउन मिल्ने गरी बनाइएको होटेल भाइपलाई सडकबाट लगिरहेको देख्न सकिन्छ ।
’Matta and Matto’ ले हामीलाई एउटा काल्पनिक र विचित्र संसारको यात्रा गराउँछ । सतही सम्बन्धहरूमा अडेको भौतिकवादी संसारमा मान्छे दिनप्रतिदिन अर्को अस्तित्वसँग टाढा टाढा हुँदै गइरहेको छ ।
यो कुनै साधारण होटेल होइन। यो त एउटा रहस्यमयी चक्रव्यूह जस्तै हो, जहाँ मानिसका लुकेका गहिरा इच्छाहरू पूरा गरिन्छन् । तर यहाँ सुख र स्पर्श पाउनको लागि एउटा ठुलो मूल्य चुकाउनुपर्छ। ग्राहकहरूले स्पर्शको आनन्द लिनका लागि आफ्नो एउटा औँला काटेर दस्तुर बुझाउनुपर्ने हुन्छ । होटेल संचालकद्वय माटा र माट्टोले ती औँलाहरूलाई यस्ता यन्त्रहरूमा बदल्छन्, जसले ग्राहकहरूलाई क्षणिक आनन्द र उत्साह त दिन्छन्, तर अन्तमा उनीहरू झन् एक्लो र अपाङ्ग महसुस गर्छन् ।लागु औषधको कुलतमा फसे जस्तै उनीहरूलाई बारम्बार स्पर्शको लत लाग्ने सम्भावना हुन्छ ।
चलचित्र मेसिनका ती औँलाहरूमा केन्द्रित छ , जसले मानिसहरूलाई मानव स्पर्शको कृत्रिम अनुभूति गराउँछ । मानिसहरू यसको यति अम्मली बन्छन् कि उनीहरू बारम्बार त्यहाँ फर्किरहन्छन्, तर अन्त्यमा उनीहरूसँग संसारलाई महसुस गर्ने आफ्नै हातका औँलाहरू भने बाँकी रहँदैनन् ।
कला र एनिमेसनको जादु
यो फिल्मको एनिमेसन शैली निकै मौलिक छ । फिल्ममा प्रयोग गरिएका रङ र दृश्यहरूले एकातर्फ दर्शकलाई मन्त्रमुग्ध पार्छन् भने अर्कोतर्फ एउटा गहिरो अशान्ति पनि पैदा गर्छन् । फिल्ममा संवाद र शब्दहरूको प्रयोग नभए पनि यसको दृश्य भाषाले संसारमा बढ्दै गएको दूरी र मानिसहरूबिचको विच्छेदलाई प्रस्टसँग प्रस्तुत गरेको छ ।
यो फिल्मले पागलपन र यथार्थ कति नजिक छन् भन्ने कुरा देखाउन खोजेको छ । फिल्म हेर्दा कोरोना महामारीको समयमा भएका लकडाउनको पनि सम्झना आउँछ संसारभरका मानिसहरु एक अर्कासँग दूरी कायम गर्ने अनौठो अनुभव हामीले भोगिसकेका छौँ । जहाँ हामी एक-अर्काबाट टाढा बस्न बाध्य थियौँ । मानव स्वास्थ्य र मानसिक सन्तुलनका लागि स्पर्श कति महत्त्वपूर्ण छ र यसको अभावमा मानिस कसरी मानसिक रूपमा विक्षिप्त हुन सक्छ भन्ने कुरालाई यसले मार्मिक रूपमा चित्रण गरेको छ ।
स्विट्जरल्याण्डको YK एनिमेसन स्टुडियोमा निर्मित यो फिल्म बियान्का र कर्स्टिनको एउटा ठुलो मेहनतको परिणाम हो । यो फिल्म बनाउने क्रममा करिब १४० वटा दृश्यहरूको खाका (Layout) तयार पारिएको थियो । निर्देशकद्वयका अनुसार, यो कथाले पागलपन र वास्तविकता कति नजिक हुन्छन् भन्ने कुरालाई चित्रण गरेको छ ।
बियान्का काडेरास भन्छिन्, यो फिल्मले हामीलाई “दैनिक जीवनमा मानिसहरूबिच हुने स-साना कुराकानी र स्पर्श कति महत्त्वपूर्ण हुन्छन्” भन्ने कुराको सम्झना गराउँछ । मानवीय स्पर्शको अभावले कसरी मानसिक चिन्ता र एक्लोपन निम्त्याउँछ भन्ने कुरालाई फिल्मले निकै कलात्मक ढङ्गले देखाएको छ ।
‘माट्टा एन्ड माट्टो’ ले धेरै अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरूमा चर्चा कमाइसकेको छ । एनिमेसन विधामा एउटा उत्कृष्ट कलाकृति यस फिल्मले हामीलाई प्रविधि र आधुनिकताको भिडमा कतै हामीले मानवीय संवेदना र आपसी सामीप्ययता त गुमाइरहेका छैनौँ? भन्ने गम्भीर प्रश्न छोडेर जान्छ । यो फिल्मले हामीलाई यो पनि सिकाउँछ कि प्रविधि वा ए आइले जतिसुकै भ्रम पैदा गरे पनि, साँचो मानवीय स्पर्शको विकल्प अरू केही हुन सक्दैन ।
यो केवल एउटा एनिमेसन मात्र होइन, बरु मानवीय सम्बन्ध र सामीप्यका लागि हामीमा रहेको अनन्त भोकको एउटा गहिरो प्रतिबिम्ब हो । जब होटेल क्षितिजमा ओझेल पर्छ, यसले हामीलाई एउटा गम्भीर प्रश्न छोडेर जान्छ—आफ्नोपनको एउटा सानो आभासका लागि हामी कतिसम्म गुमाउन तयार छौँ?




